Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


व्यवसायिक कुखुरा पालनबाट सिन्धुलीका युवाकाे वार्षिक कराेडाैं आम्दानी


1.8k
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, भिमान, कमलाखोंच र मरिण क्षेत्रमा व्यवसायिक रुपमा लोकल कुखुरा पालन व्यवसाय संचालन गर्न थालिएकाे छ ।

कुखुरा पालन व्यवसाय संचालन गर्न थालेपछि व्यवसायीहरुले राम्रो आम्दानी गर्न थालेका हुन् । स्वदेशमै घरपरिवारसँग बसेर लोकल कुखुरा पालन व्यवसाय संचालन गर्न पाएपछि राेजगारीको खोजीमा विदेश पलायन हुने युवा जनशक्तिहरु यस पेशामा संलग्न भएका छन् । उनीहरूले कुखुरा पालन व्यवसाय संचालन गरेपछि आत्मनिर्भर बन्न थालेका छन् ।

विदेशको तुलनामा नेपालमा गरिने अन्य पेशा भन्दा घरभित्रै सजिलैसँग बसेर कुखुराको स्याहार सुसार, औषधि उपचार तथा दाना पानी दिने काम कुखुरा पालन व्यवसाय गर्न पाउदा विदेश गएर फर्केका युवाहरुले समेत सजिलो कमाई हुने पेशाकाे रूपमा लिएका छन् । सिन्धुलीमाडी लगायतका जिल्लाका विभिन्न स्थानहरुमा २ सय भन्दा बढीको संख्यामा व्यवसायिक कुखुरा पालन व्यवसाय फस्टाएको छ ।

सिन्धुलीमा व्यवसायिक कुखुरा पालन गर्न-गराउनका लागि स्थानीय तहहरुले आर्थिक तथा प्राविधिक सहयोग गरिदिएपछि कुखुरा पालन व्यवसायमा लाग्ने युवाहरु प्रोत्साहित भएका छन् । सिन्धुलीमा उत्पादन भएका लोकल कुखुराहरु जिल्लामै मासुमा प्रतिकेजी ८ सय रूपैयाँका दरले बिक्री वितरण भएकाे छ ।

लोकल कुखुरा पालनबाट सिन्धुलीका विभिन्न स्थानका व्यवसायीहरुले प्रतिवर्ष कुल ३ करोड २ लाख रूपैयाँ आम्दानी गर्दै आएको एक तथ्यांकले देखाएको छ ।