Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि चापकोट नगरपालिकाको काम ठप्प


65
Shares

स्याङ्जा । विगत तीन महिनादेखि स्याङ्जाको चापाकोट नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, औषधी खरिद, विद्यालयमा पुस्तक खरिद, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरु पारिश्रमिक पाउनबाट बञ्चित हुनुका साथै विकासका सम्पूर्ण गतिविधिहरु ठप्प छन् ।

कार्यालयको काममा ढिलाइ हुँदा नगरपालिकाका सर्वसाधारण मारमा परेका छन् भने विकासका योजनाका काम सुरु नहुँदा नगरपालिकामा आएको बजेटसमेत फिर्ता हुन्छ कि भनेर स्थानीयहरु चिन्तित बनेका छन् ।

प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक खर्चसमेत रोकिएको चापाकोट नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बृद्धभत्ता कात्तिकदेखि, तलब मंसिरदेखि भुक्तानी गर्न सकिएको छैन । माघ सकिन लागिसक्यो अरु पालिकाका कर्मचारीहरुले योजना सम्झौता सकेर विकास खर्च आधा सकिने बेला भयो भन्छन् तर चापाकोटमा विकास खर्चको कुरा छोडिदिनुहोस् प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिलेसम्म १० प्रतिशत योजना पनि सम्झौता हुन सकेको छैन, भन्न पनि लाजै लाग्दो भयो ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम तथा नगरपालिकामा लेखाको सबै काम रोकिएको छ ।

चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (इश्वर) ले पाँच लाखभन्दा मुनिका विकासका योजनाहरु सम्झौता गरेर काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच लाखभन्दा माथिका योजनाहरु सम्झौता गर्दा पेश्की दिनुपर्ने भएको हुँदा योजना सम्झौता नभएको हो ।’

चापाकोट नगरपालिकामा गतवर्ष पनि योजना सम्झौता नहुँदा करोडौं रकम फ्रिज भएको थियो । नगरपालिकाका कर्मचारीहरु भने काम नभएपछि घाम तापेर दिन बताउने गरेका छन् ।

Skip This