Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


अनुमति बिना आफ्नो तस्वीर प्रयोग भएपछि विजय लामाको आपत्ति


4.5k
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको दुबई फेस्टिभलमा अनुमति बिना आफ्नो तस्वीर प्रयोग भएपछि अभिनेता तथा पाइलट विजय लामाले आपत्ति व्यक्त गरेका छन् ।

विवादित निजी कम्पनी सूर्ये कर्पोरेसनसँग सहकार्य गरेर बोर्डले यही फेब्रअरी १२ देखि १५ तारिखसम्म दुबईमा ‘नेपाल्स सिनेमा फेष्ट’ आयोजना गरेको छ । बोर्डले ३० लाखमा विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मेवारी दिएको भन्दै बहिष्कार गर्ने क्रम सुरु भएको छ ।

यसै क्रममा चलचित्र ‘महापुरुष’ले अनुमति बिना नाम राखिएको भन्दै फेस्टिभल बहिष्कार गरिसकेको छ । त्यस्तै, क्याप्टेन लामाले पनि अतिथिको रुपमा सहभागी हुने भनेर आयोजकले पोस्टरमा तस्वीर राखेर प्रचार गरेपछि उनले पनि सहभागी नहुने घोषणा गरेका छन् ।

क्याप्टेन लामाले बुधबार सामाजिक सञ्जालमा स्टाटर लेख्दै आफूलाइ यसबारे जानकारी र निमन्त्रणा नै नभएको र फेस्टिभलमा अनुमति बिना तस्वीर प्रयोग भएको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘न मलाइ यसबारे जानकारी नै छ न निमन्त्रणा नै छ न मलाइ सहभागिता जनाउन समय नै छ, यसरी लिखित स्वीकृति विनानै मेरो तस्वीर चलाएर राख्नु कतिको उचित हुन्छ ?’

क्याप्टेन लामाले उक्त स्टाटस मार्फत यस कार्यक्रमसँग कुनै पनि संलग्नता नभएको जानकारी गराएका छन् । उनले अबदेखि कसैले पनि आफ्नो तस्वीर चलाउन परे पूर्व सूचना या स्वीकृति लिएर मात्रै गर्न आग्रह गरेका छन् ।