१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी

राहदानीको छानबिन अलपत्र

962
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतले लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र (२०५० सालमा लिएको) अवैध ठहर गरेसँगै उनले सोही नागरिकता प्रयोग गरेर बनाइएको नेपाली राहदानी पनि स्वतः अवैध भइसकेको छ। त्यस विषयमा नेपाल प्रहरीले छानबिन र अनुसन्धान जारी राखेका बेला आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकता पुनः प्राप्ति गरेका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फिर्ता भइसकेका छन्।

त्यति मात्र होइन, ६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीको समेत साथ र समर्थन पाएका लामिछानेले आइतबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अदालतको आदेशबाट शुक्रबार गुमेको आफ्नो उपप्रधान तथा गृहमन्त्रीको पदमा पुनः नियुक्ति गर्न आग्रह गरेका छन्।

नेपाली नागरिकता त्यागेका लामिछानेले पुनः नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार उनको प्रतिनिधिसभा सदस्यसँगै उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति एकसाथ बदर भएका थिए। प्रधानमन्त्री दाहाल र नेकपा माओवादी केन्द्र भने लामिछानेलाई पुनः गृह मन्त्रालय नदिने पक्षमा छन्। माओवादी केन्द्रका अधिकांश नेता अब गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्नुपर्ने पक्षमा छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।