नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल लहड कि आवश्यकता ? « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल लहड कि आवश्यकता ?


1.443k
Shares

काठमाडौं । मुलुकको आर्थिक कायापलट हुने आकांक्षासहित निर्माण भएका पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ । निजी क्षेत्रको एउटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवामा भर्दै आएको उडान मौसमको कारण देखाएर रोकेको छ भने पोखरामा सेवा सञ्चालनको कुनै छेकछन्द छैन । नेपालमा विकास आवश्यकताभन्द लहड केन्द्रित हुने गरेको फेरि एक पटक प्रमाणित भएको छ ।

सञ्चालनमा आइनसक्दै पोखरा र भैरहवा विमानस्थलले सोचे अनुरूप प्रतिफल दिनेमा प्रश्न उठ्न थालेको छ । कुनै पनि मुलुकको आर्थिक विकासमा पूर्वाधारको निर्माण एउटा आवश्यक सर्त हो, तर पर्याप्त अवस्था भने होइन । यदि निर्माण गरिएका पूर्वाधारहरूको पूर्ण उपयोग गर्न सकिएनभने ती पूर्वाधारहरू केवल आर्थिक उत्पादन नभई दोहनका साधन प्रमाणित हुन्छन् । पहिलो गाँसमै भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण नहुँदा भावी दिन चुनौतिपूर्ण छन् भन्ने संकेत दिएको छ ।

त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक ७२ वर्षपछि गत जेठ २ मा सञ्चालनमा आएको दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तेस्रोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन सम्पन्न भएको हो । एक वर्ष पहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको बखत अर्को विमानस्थल थपिएको खण्डमा धेरै समस्या समाधान हुने आशा गरिएको थियो । तर वास्तविकता भने फरक देखिएको छ । दूरदर्शिताको अभाव र व्यवस्थापकीय कमजोरीका कारण थप विमानस्थलले सोचेअनुरूप प्रतिफल दिन सकिरहेका छैनन् ।

सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण स्थगित हुनुको मुख्य कारण छिमेकी मुलुकसँग समन्वयको अभाव भएको विज्ञहरूको दाबी छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा विमान अवतरण गर्ने बेला करिब एक किलोमिटर भारतीय भूभाग पर्छ । खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने ईन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण विमानस्थलको धावनमार्गमा जडान गरिएको छ ।

सामान्यतया विमान उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने हुन्छ । तर, यो उपकरणको प्रयोगले ८ सय मिटरको भिजिबिलिटीमा समेत उडान अवतरण गर्न मिल्ने हुन्छ । तर, अहिलेसम्म यो उपकरणको सञ्चालनमा भारतले असहमति राखेको हुँदा व्यावसायिक उडान प्रभावित भएको बताइन्छ ।
एसियाली विकास बैंकसँग ३० अर्ब ऋण लिएर बनाइएको यो विमानस्थल सञ्चालनका लागि प्रशासनिकलगायत अन्य गरी मासिक करिब १ करोड खर्च हुँदै आएकोे छ । अन्तर्राष्ट्रिय उडानहरू ठप्प भइदिँदा यी खर्चले अनावश्यक व्ययभार थपेका छन् ।

भर्खरै उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुनुपूर्व नै यसका लागि आवश्यक पूर्वाधारदेखि छिमेकी मुलुकहरूसँग आकाश मार्गको छिनोफानो नहुँदा सुरुवातमै अलमल देखिएको छ । विमानस्थल शुभारम्भ भएपनि यसको निरन्तरताका लागि सरकारसंग कुनै दीर्घकालीन योजनाछैन । न त यसको व्यवस्थापन, बजारीकरण, अन्तर्राष्ट्रिय समन्वय, लाभ–लागत विश्लेषणका साथै अल्पकालीन र दीर्घकालीन योजना निर्माणको सुनिश्चतता देखिन्छ । अझ चौथो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकियामा छ । यो संरचना पनि उपलब्धीविहीन बन्ने जोखिम उत्तिक्कै छ ।

अर्बौं वैदेशिक ऋणको सहायतामा निर्माण गरिएका विकासका पूर्वाधारहरूले सोचेअनुरूप प्रतिफल नदिँदा श्रीलंकाले इतिहासमै सबैभन्दा कठिन आर्थिक स्थितिको सामना गर्नुपरेको थियो । नेपालको आर्थिक संरचना पनि श्रीलंकासँगै मिल्दोजुल्दो छ । गहिरो अनुसन्धान र दीर्घकालीन सोचबिना बनेका कुनै पनि पूर्वाधारमा गरिएको लगानी फगत जनताप्रतिको धोका शिवाय केही होइन ।