
लहान, भदौ १२ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ ।
रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्कंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० वर्षीय विक्रम सरदार, सोही ठाउँका २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, सप्तरीकै कन्चनरुप नगरपालिका–११ निवासी २४ वर्षीय हीरालाल साह र शम्भुनाथ नगरपालिका–७ निवासी १८ वर्षीय राजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भबेश रिमालले जानकारी दिए ।
रक्षाबन्धन मेला भरेर सोमबार राति करिब ९ बजे साइकलमा एक्लै घर फर्कंदै गरेकी ती युवतीलाई अर्नाहा र कठौनाको बीचमा पर्ने वसबलपुर जाने बाटोनजिकै ७/८ जना युवाको समूहले बाटो छेकेर धानखेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
पीडित युवतीका परिवारजनले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती सबैलाई पक्राउ गरिएको जनाइएको छ ।
घटनामा संलग्न युवाले मादकपदार्थ सेवन गरेको पीडित युवतीले बताएकी छन् ।
यसैबीच, पक्राउ परेका पाँचैजनामाथि मंगलबार जबर्जस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्