१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको सांसदकाे आरोप


312
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका सांसद पाण्डेले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर एमाले अध्यक्ष ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनुभएको हो ।

संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने अहम्ता देखाएको पाण्डेको जिकिर छ ।

विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै मौका ढुकेर बसेको आरोप लगाउनुभयो ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले पूर्वप्रधानमन्त्रीहरु नै सिस्टम मिलाएर अर्बौंको भ्रष्टाचारहरु गर्न लागिपरेको आरोप समेत लागाउनुभयो ।

आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको टिप्पणी गर्दै सांसद चौधरीले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानबारे ज्ञान दिन दिन कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो ।

अहिले पनि नेपालको संविधान धेरै संकटमा रहेको जिकिर गर्दै सांसद चौधरीले अहिलेका गतिविधिहरुलाई सच्याउन नसके संविधान नै धरापमा पर्ने चेतावनी दिनुभयो ।

संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको आरोप लगाउँदै उहाँले प्रणाली मिलाएर अर्बौं भ्रष्टाचार भइरहेको बताउनुभयो । आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर भ्रष्टाचार गरिरहेको भन्दै सांसद चौधरीले प्रधानमन्त्री भइसकेकाहरुले नै आफ्नो गलत कामलाई जनादेश अनुसार भन्दै व्याख्या गरिरहेको तर्क गर्नुभयो ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद् सर्वेन्द्रनाथ शुक्लले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमति र एकताको सन्देश दिए पनि सभामुखको निर्वाचनसम्म आइपुग्दा त्यो उल्टो भइसकेको टिप्पणी गर्नुभयो ।

सांसद शुक्लले परिवर्तनकारी भनिएका शक्तिहरू नै भागबण्डामा लाग्दा राष्ट्रिय राजनीतिमा अहिले अपरिहार्य रहेको समझदारी र सहकार्यको अभ्यास हुन नपाएको जिकिर गर्नुभयो ।