भूकम्पपछि घर अड्याएको टेकोले अझै छुट्कारा पाएन « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


भूकम्पपछि घर अड्याएको टेकोले अझै छुट्कारा पाएन


52
Shares

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाका कारण मुलुकभर शोक घोषणा गरेको सरकारले २५ औं भूकम्प सुरक्षा दिवसको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १९९० साल माघ २ गते गएको विनासकारी भूकम्पको दिन पारेर नेपालमा भूकम्प सुरक्षा दिवश मनाएँदै आएको थियो । ९० सालको भूकम्प अनुभव भोग्ने पुस्ता विरलै भेटिएपनि २०७२ मा गएको भूकम्पको अनुभव अझै पनि ताजै छ । आश्चर्य त के छ भने सात वर्षअघि भूकम्पले थिलथिलो पारेको भौतिक संरचना अझै टेको पारेर धान्नुपरेको छ ।

१९९० माघ २ गते गएको ठूलो भूकम्पको कारण भौतिक तथा मानवीय रुपमा ठूलो क्षति भएको थियो । त्यसपछि २०४५ भदौमा गएको भूकम्पले नेपाली समाजलाई उतिक्कै घाइते बनायो । यही श्रृंखलामा २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो संख्यामा मानवीय र भौतिक विनाश ग¥यो । काठमाडौको कोर क्षेत्र मानिने असनका भित्री बस्तीलगायतका ठाउँमा अझैपनि भूकम्पका कारण क्षति भएपछि घर अड्याउन लगाईएको टेकोले अझै निरन्तरता पाइरहेको छ ।

भूकम्पका भौतिक संरचना बनाउन सरकारले बनाएको शक्तिशाली निकाय पुनर्निर्माण प्राधिकरण हटाइसक्दा पनि यी टेकोले मुक्ति पाएका छैनन् । टेको लगाएका घरमा यस क्षेत्रका बासिन्दा बस्न र व्यवसाय गर्न बाध्य छन् । घर बनाउन नसक्दा अझै टेको लगाएकै घरमा बस्दै आएको शशी मानन्धर बताउनुहुन्छ ।

२०७२ सालको भुकम्पपछि व्यहोेरेको पीडा र त्रासबाट अझै पनि आफूहरु निस्कन नसकेको अनुभव उनीहरु सुनाउँछन् । आपूmहरुले भूकम्पको विनास र त्रास विर्सन खोजे पनि बेला बेलामा आइरहने पराकम्पनका कारण आफूहरु झनै त्रसित बन्ने गरेको सुनिल श्रेष्ठ बताउनुहुन्छ ।

नेपालमा ९० साल यता भूकम्पका कारण भएको भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण छैन । भूकम्पका कारण भएको क्षति नजरअन्दाज गरेर पुन मापदण्ड पुरा नगरी भवन निर्माणलगायत गर्ने लगायतका लापर्वाही गर्न थालेको देखिन्छ । विनासको भरोसा नै नहुने हुँदा सजक हुनुपर्ने इञ्जिनियर भुपेन्द्रलाल मास्के बताउनुहुन्छ ।

भूकम्प प्राकृतिक प्रकोप हो । यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आएपछि हामीले बनाएका घर संरचनाले किचेर मानिसको ज्यान जाने हो । भूकम्पको विषयमा आउने अव्यवहारिक र न्यून तार्किक जानकारीका कारण धेरै जनाले ज्यान गएको अनुभव छ । भूकम्प कहिले र कसरी र कस्तो जाने भन्ने अनुमान गर्न नसके पनि समय र परिस्थितिपरक भूइँचालो सम्बन्धी जानकारी प्रवाह गर्न जरुरी छ ।