१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


बैतडीमा औलोका बिरामी बढ्दो


0
Shares

विनोद सिंह विष्ट

बैतडी, भदौ १२ । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी औलो रोगको उच्च जोखिममा पाइएको छ । पछिल्ला तीन बर्षमा औलोका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए ।

जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेको पाइएको छ । गत वर्षदेखि औलो रोगको बिरामी फेला पर्न थालेकोमा हालसम्म ४० जना औलो रोगी भेटिएका हेल्थ असिष्टेन्ट पाण्डेयले बताए ।

गत बर्षसम्म ३३ जना भेटिएकोमा चालु आर्थिक बर्षमा ७ जना औलो रोगी भेटिएका हुन् ।  उनले भने, ‘विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरुको रगत जाँच गर्दा औलो फेला परेको हो ।’ 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामीहरु पत्ता लगाउन सजिलो भएको ल्याब टेक्निसियन रमेश बोहराले जानकारी दिए । आफ्नै गाउँमा रगत जाँच गरेर औलो रोग पत्ता लाग्न थालेपछि चेकजाँच गराउनेको संख्या पनि बढ्दै गएको उनले बताए । 

तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवती महिलाहरु तथा बढी जोखिम रहेका स्थानीय बासिन्दालाई निःशुल्क रुपमा झुल वितरण गरिएको थियो भने बढी प्रभावित क्षेत्रमा लामखुट्टेविरुद्ध किटनासक औषधि समेत छर्किएको छ । 

गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले रोगीको संख्या अझै बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पहाडी क्षेत्रमा लामखुट्टे वृद्धि भएसँगै औलोका बिरामीहरु पनि देखिन थालेका छन् । 

लामखुट्टेको टोकाइबाट औलो रोग सर्ने गर्दछ । औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । साथै आफ्नो घर वरिपरिको वातावरण सफा राख्ने, झुल लगाएर सुत्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।