Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त


65
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा बुधबार जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै मननयोग्य र सान्दर्भिक रहेको बताउनु भएको छ ।

उहाँले तत्कालिन समयमा पृथ्वीनारायणले चालेको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा सफल भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ ।’

उहाँले वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको बताउनु भएको छ ।

‘तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेका छन् । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्न समेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भ सामग्रीका रूपमा लिन सक्दछौं ।’ सन्देशमा उल्लेख छ ।

राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रियएकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।