चितवन र पर्साका क्रसर उद्योग बन्द « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


चितवन र पर्साका क्रसर उद्योग बन्द


104
Shares

काठमाडौं । गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि देशका विभिन्न स्थानमा रहेका अवैध क्रसरहरु बन्द गर्न थालिएको छ ।

चितवन जिल्ला प्रशासनल कार्यालयले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले यसअघि बन्द भएका पाँचसहित थप १३ वटा क्रसर उद्योग बन्द गराएको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका भित्र रहेका पाँच वटा क्रसर उद्योग बन्द गराइएको भने खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । बन्द गराइएका क्रसरको विद्युत लाइनसमेत काटिएको छ ।

यसैगरी, पर्सामा सञ्चालित ४ वटा अवैध क्रसर उद्योग बन्द पनि गरिएको छ ।

वीरगञ्ज मुसैलीस्थित यादव क्रसर उद्योग प्रा.लि., वीरगञ्ज बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढीको परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो ।

पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनीमा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पर्सामा सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिसकिएको जानकारी दिनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिनाले गैरकानुनी र मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएको जानकारी दिनुभयो ।

यता बारामा पनि गैरकानुनी ढंगले सञ्चालन गरेका क्रसर तथा बालुवा प्रशोधन उद्योगको विद्युत लाईन काटिएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले उद्योगहरुको स्थलगत अनुगमन गर्नुको साथै आवश्यक कारबाही गरेको हो ।