
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल हुने एक नेताले जानकारी दिए ।
शनिबार नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणबारे छलफल भएको थियो । नेसपा र माओवादी केन्द्रबीच कार्यदल बनाएर पार्टी एकता छिट्टै गर्ने समझदारीसमेत बनेको छ ।
लगत्तै बसेको माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा महरासँगै महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । नेसपाले आइतबार बस्ने बैठकबाट वार्ता टोली गठन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्