१० वर्षीय बालक महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


१० वर्षीय बालक महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता


2.457k
Shares

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् ।

बिहीबार दिउँसो नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभएको छ ।

घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो । बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।

उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । प्रहरीले पनि उक्त घटनाबारे एकिन जानकारी नभएको जनाएको छ ।

प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।