
म्याग्दी । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारी धाम आध्यात्मिक चिन्तन र प्राकृतिक दृश्यावलोकनका लागि प्रशिद्ध बन्दै गएकाे छ ।
पछिल्लो समय यहाँ धमाधम भौतिक पूर्वाधार निर्माण हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीहरुको भीड लाग्न थालेको हाे । मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सीमानामा अवस्थित टोड्केमा रहेकाे स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनका लागि उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेकाे धार्मिक विश्वास रहेको छ ।
प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशाला लगायतका केही संरचना निर्माण गरेको स्वर्गद्वारी आश्रम शिव मन्दिरका पूजारी जनक सुवेदीले जानकारी दिनुभयाे । अहिलेसम्म पनि ति संरचनाहरू रहेकाे उहाँकाे भनाइ छ ।
प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सातदिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताह पाठ गर्नुभएको उहाँकाे भनाइ छ । त्यसैगरी जन्मेको छैठौं दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गरेकाे र त्यसै बेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको पूजारी सुवेदीले बताउनुभयाे । वि.स. १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मेका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गरेका थिए । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माहरुले तपस्या गरेका थिए।
२० रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । पहाडको टुप्पोमा घना जङ्गलकोबीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, मानापाथिलगायतका हिमाल, दुई दर्जन बढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकका पहुँच भएकोले यातायातका साधनबाट पनि जान सकिन्छ ।
यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाएका खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा र शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशाला रहेको छ । साथै १२ वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक हुने गर्दछ । पूजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ ।
अत्यन्त मनमोहक र आत्मशुद्धीका लागि उपयुक्त यस क्षेत्रको विकासका लागि अहिले भौतिक पूर्वाधार निमाणको कामले गति लिन थालेकाे छ । तर पनि प्रचारप्रसारको कमीका कारण अपेक्षा अनुरूप पर्यटक र तीर्थयात्रीहरु आउन नसकेको पूजारी सुवेदीले बताउनुभयाे । व्यापक रुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सकेकाे खण्डमा यस क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्