
नवलपुर । १ एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले सडक निमार्ण कार्यलाई तीव्रता दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकको २०.३३ प्रतिशत काम सम्पन्न भएको हाे । नारायणगढदेखि दाउन्नेसम्मको पूर्वी क्षेत्रमा २०.३३ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर धिरज ढकालले जानकारी दिनु भयाे । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशत मात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको देखिएकाे छ ।
पूर्वी खण्डमा दैनिक १ हजार २ सय कामदारले काम गरिरहेका छन् । सडक खण्डमा पर्ने विद्युतका पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको हो । पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा निर्माणको काम भइरहेको र २२ साना पुल मध्ये १३ मा काम सकिएको छ ।

गैंडाकोटबाट दाउन्ने सम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज–१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज–२ गरी एकै साथ विस्तार कार्य भइरहेको छ । सडकको कुल लम्बाई १ सय १३ किलोमिटर रहेकाे छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्