२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नयाँबजारमा नेत्रधाम आइकेयर सेन्टरकाे शाखा विस्तार


429
Shares

काठमाडाैं । काठमाडौंको खुसिबु नयाँबजारस्थित तुलाधर कम्प्लेक्समा नेत्रधाम आइकेयर सेन्टरको शाखा विस्तार भएको छ । नेपालका पहिलो आँखा सर्जन प्रा. डा. राम प्रसाद पोखरेलले शनिबार शाखाको उद्घाटन गरेका हुन् ।

नेत्रधामले नयाँ शाखा उद्घाटनको अवसर पारेर एकदिने निःशुल्क आँखा तथा मधुमेह शिविरको समेत आयोजना गरेको थियो । अत्याधुनिक प्रविधिसहित अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट नेत्र रोगसम्बन्धी सेवा दिने उद्देश्यका साथ शाखा विस्तार गरिएको नेत्रधामका प्रबन्ध निर्देशक डा. सन्यम बजिमयले बताए । उनका अनुसार नेत्रधामले अत्याधुनिक प्रविधिबाट आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ ।

शाखाबाट मोतिया विन्दु, रेटिना, पेडियाट्रिक अप्थाल्मोलोजीलगायत आँखा रोगसम्बन्धी सबै सेवा प्रदान गरिने नेत्रधाम व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा. संगीता श्रेष्ठ, जलविन्दु विशेषज्ञ डा. निरसरा श्रेष्ठ, डा. विभूति थापा, रेटिना विशेषज्ञ प्रा. डा. गोविन्द पौडेल, रेटिना विशेषज्ञ डा. बजिमय, एकुलोप्यालास्टिक सर्जन डा. दिवा हमाल र डा. प्रणव श्रेष्ठ लगायतका चिकित्सकले सेवा दिनेछन् ।

ललितपुरकाे कुपण्डोलमा मुख्य अस्पताल रहेको नेत्रधामले नवाैं वर्ष पूरा गरेको अवसर पारेर नयाँ शाखा विस्तार गरेकाे हो । शाखामा ६ जना चिकित्सकसहित १५ जना बढी कर्मचारी कार्यरत छन् । ५० लाख रूपैयाँ बढी लगानीमा उक्त शाखा विस्तार गरिएको जनाइएकाे छ ।

आगामी ६ महिनाभित्र अर्काे शाखा विस्तार गर्ने नेत्रधामकाे तयारी छ ।