२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


सिन्धुलीको चियाबारी-खुर्कोट सुरूङमार्ग निर्माणमा ढिलाई


195
Shares


सिन्धुली । सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत चियाबारी–खुर्कोट सुरुङमार्गकाे निर्माणकाे काम गर्न ढिलाई भएको स्थानीयबासीले गुनासो गर्न थालेका छन् ।

वीपी राजमार्गबाट चियाबारीबाट खुर्कोटसम्मको दूरी करिब ३९ किलोमिटर पर्दछ । तर चियाबारी–खुर्कोट सुरुङमार्ग ७.८ किलोमिटर मात्र हुनेछ । समय र इन्धनको बचत मात्र हैन सडक दुर्घटनाको जोखिमका लागि समेत चियाबारी–खुर्कोट सुरुङमार्ग अत्यन्तै प्रभावकारी रहने देखिएको छ। वीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।

प्रत्येक वर्ष बजेटमा चियाबारीदेखि खुर्कोटसम्मको सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिएपनि हालसम्म उलेख्य प्रगति भने हुन सकेको छैन । केही समसय पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक टोलीले सार्वजनिक गरेको पूर्वसम्भाव्यता अध्ययन (प्रिफिजिबिलिटी स्टडी) ले सुरुङमार्ग बनाउन सुरुङ ४० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । चियावारी–खुर्कोट सुरुङ मार्ग निर्माण गन सम्भाव्यता अध्ययन २०७६ सालमा सकिएको थियो ।

तर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो । वास्तविक लागत डीपीआर तयार भएपछि मात्र एकिन हुने जनाइएको छ । केही समय अघि सडक विभागका उच्च अधिकारी र जाईकाको परामर्शदाता टोलीबीच सुरुङमार्ग निर्माण सम्बन्धमा छलफल भएको थियो ।

सोही छलफलमा जाईकाले लागत रकम सहितको प्रिफिजिबिलिटी स्टडी प्रस्तुत गरेको हो । उक्त कुरामा सडक विभाग सकारात्मक रहेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । जाईकाको कन्सल्ट्यान्ट टोलीको कुरामा सकारात्मक रही ३५-४० अर्ब रुपैयाँको आयोजना अध्ययन र निर्माण गर्न सन् २०३१ सम्म सम्पन्न गर्न आग्रह गरिएको समेत जनाइएको छ ।

खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माणका लागि अरूलाई अनुरोध नगर्ने जनाउदै विकास सहायता कार्यान्वयन महाशाखाले सडक विभागले सुरुङमार्ग सन् २०३१ सम्ममा निर्माण सम्पन्न गर्न अनुरोध गरेको बुझिएको छ । जाइकाले गरेको प्रारम्भिक अनुमान अनुसार चियावारी–खुर्कोट सुरुङमार्ग निर्माण गर्न ७.८ किलोमिटर सुरुङ र १.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिन्छ।

जाईकाले तात्कालीन समयमा गरेको कुरामा सडक विभाग सकारात्मक रहेकाले थप अध्ययन गर्न आग्रह गरेको थियो ।बनेपा–सिन्धुली–बर्दिबास वीपी राजमार्ग जाईकाको अनुदान सहयोगमा निर्माण भएको हो । चियाबारी–खुर्कोट सुरुङमार्ग बीपी राजमार्गमा पर्ने भएकाले सुरुङको निर्माण पनि जाईकाले नै गर्ने सम्भावना रहेको छ । वीपी राजमार्गमा सुरुङमार्ग र सडक गरेर करिब १० किलोमिटर निर्माण हुने भएकाे छ ।

सुरुङ मार्ग बनेपछि २५ किलोमिटर बाटो छोटो हुने पनि जाईकाको अध्ययनले देखाएको छ ।