Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


युट्युबरका कारणले अनलाइन पत्रकारमाथि आक्रमण बढ्दै : अध्यक्ष पोखरेल


507
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासंघ तयार रहेको बताउनुभएको छ ।

अनलाइन पत्रकार संघको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तर्क्रियामा उहाँले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हुँदै थप चुनौति थपिएको बताउनुभयो ।

महासंघका महासचिव रोशन पुरीले ठुलो लगानीका साथ अनलाइन पत्रकारितामा प्रवेश गरी पत्रकारलाई सेवासुविधा र तलबको प्रलोभनमा राख्दा दिगोरूपमा व्यावसायिक पेशागत सुरक्षा नहुने हुँदा यसबाट बच्न जरुरी रहेको धारणा राख्नुभएको थियो ।

अनलाइन पत्रकार संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अनलाइन पत्रकारमा बढ्दै आएका चुनौतीमा विषयको सुरक्षा र पेशागतरूपमा सुरक्षाजस्ता विषयलाई अबका दिनमा कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा प्रसारप्रचार भएको सूचना, परिवर्तित समयसँगै बढ्दै गएको अनलाइनप्रतिको आकर्षण बढ्दै गएको र नयाँ चुनौतीबारे सर्तकता, बनाउनुपर्ने रणनीतिलगायतका विषयमा छलफल भएको थियो ।

निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालबाट हालको निर्वाचनमा मिथ्या तस्विर प्रयोग, भाषणका अंश काटेर भ्रामक बनाउने, आतङ्कित बनाउने मिथ्या सूचना, मिडिया सामग्रीमा छेडछाड गरी भ्रम फैलाउने, अपुष्ट भनाइ, मिथ्या स्क्रिनसटले फैलाएको भ्रम, मिथ्या स्क्रिनसटको लहर, मतदानअघि फैलाइएका भ्रमका बारेमा जानकारी गराइएको थियो ।

Skip This