१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने


195
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताउनुभएको हो ।

उहाँले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने बताउनुभयो । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरुलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो ।

स्वयंसेवकहरुलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै उच्च प्रशंसा गर्नुभयो । निरन्तर रुपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरुको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेवकहरु भएको बताउनुभयो । स्वयंसेविकाहरुको कामका कारण नै स्थानीय तहहरु मध्ये ललितपुर महानगरपालिका उत्कृष्ट भएको उहाँले बताउनुभयो ।