निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग


975
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ ।

आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पार्नुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताउनुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको टुंगो लागिसकेपछि मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताउनुभयो ।

सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताउनुभयो । उहाँले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताउनुभयो ।

सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताउनुभयो ।