
कञ्चनपुर, भदौ ९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि प्रहरीले बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ ।
निर्मला पन्त आफूसँग पढ्ने साथी १८ बर्षीया रोशनीलाई भेट्न उनको घर गएपछि बेपत्ता भएकाले उनीहरुलाई नै पक्रेर पहिले अनुसन्धान गर्नुपर्ने स्थानीय र आफन्तले माग गरेपछि दुवैलाई पक्राउ गरिएको हो । निर्मला बेपत्ता भएकै दिन साँझ उनकी आमाले बबिता र रोशनीको घर सोधखोज गर्न जाँदा उनीहरुले गैरजिम्मेवार जवाफ दिएको पीडितको दावी छ ।
प्रहरीले निर्मलाको बलात्कार र हत्याको आरोपमा मानसिक सन्तुलन गुमेका एक स्थानीयलाई पक्राउ गरेपछि घटनाका वास्तविक दोषीलाई जोगाउन प्रहरी प्रशासन नै संलग्न देखिएको आरोप लगाउँदै स्थानीयले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।
दुबै दिदीबहिनीलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दिदीबहिनीलाई आजै म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्