अब कांग्रेसबाट युवापुस्ताले पार्टी र देशको नेतृत्व गर्ने समय आयो : गगन थापा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


अब कांग्रेसबाट युवापुस्ताले पार्टी र देशको नेतृत्व गर्ने समय आयो : गगन थापा


650
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यता रहेको बताउनुभएको छ ।

उहाँले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताउनुभएको हो ।

उहाँले कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताउनुभयो । मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताउनुभयो । उहाँले अधिकांश काँग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उहाँले सबै नेताहरुले सहयोगको वाचा गरेको बताउनुभयो ।

महामन्त्री थापाले अबको देशको नेतृत्व कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताउनुभयो । उहाँले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताउनुभयो । महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशिर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुहुन्छ । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आउनुभएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताउनुभएको थियो । पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोईराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यत्ति सहज भने छैन ।