Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले पार्टी अघि बढ्छ: विष्णु पौडेल


104
Shares

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताउनुभएको छ ।

प्रतिनिधि र प्रदेश सभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले आज सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुकाे माझमा संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकीर समेत गर्नुभयो ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेश सभाहरुमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पटकपटक दोहोर्याउनुभयो ।

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरुको सुझाव लिएर अघि बढने बताउनुभयो ।

Skip This