Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


हत्याको अभियोग लागेका साउदीका राजकुमारलाई अमेरिकाले दियो कानूनी प्रतिरक्षा


91
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पत्रकार हत्याको अभियोग लागेका साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई कानूनी प्रतिरक्षा प्रदान गरेको छ ।

उनी विरुद्ध दि वासिङटन पोस्टमा समेत कलम चलाउने गरेका चर्चित पत्रकार जमाल खसोगीको हत्या गरेको भन्दै खसोगीकी केटी साथीले मुद्दा दायर गरेकी थिइन् । साउदी सरकारका कडा आलोचकको रूपमा चिनिने खसोगीको सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी कूटनीतिक नियोगमा हत्या भएको थियो । अमेरिकी गुप्तचर निकायले हत्याका लागि सउदी युवराज सलमानले आदेश दिएको हुनुपर्ने दावी गरेको थियो ।

तर अदालती कारबाहीका क्रममा अमेरिकी विदेश विभागले सलमानको साउदी प्रधानमन्त्रीको नयाँ भूमिकाका कारण उनले अहिले कानूनी प्रतिरक्षा पाउने जनाएको छ । खसोगीले स्थापना गरेको मानवअधिकार समूह डेमोक्रेसी फर दि अरब वर्ल्ड नाउसँग मिलेर सेनिग्जले आफ्ना साथिको हत्याबारे युवराजबाट परिमाण नखुलेकाले क्षतिपूर्ति माग गर्दै अमेरिकामा उनीविरुद्ध मुद्दा हालेकी थिइन् ।

उजुरीमा साउदी नेता र उनका अधिकारीहरूलाई अमेरिकामा बसोबास गर्दै आएका तथा प्रजातन्त्रका हिमायती खसोगीलाई अपहरण गरी डोरीले बाँधेर लागूऔषध खुवाएर यातना दिएपछि हत्या गरेको अभियोग लगाइएको छ। एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कोल्लामार्डले अहिलेको कानूनी प्रतिरक्षापछि गएर दण्डहिनता बन्न सक्ने बताएका छन् ।