Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ : गृहमन्त्री खाँण


26
Shares

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताउनुभएको हो ।

उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकाेप्टर र हवाईजहाजलाई अलर्ट गरिसकेको बताउनु भयो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका खाँणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरु प्रस्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रशारण गरेका तथ्यांकहरु नै प्रस्तुत गरेको बताउनु भयो ।

उहाँले निर्वाचनबारेका कुनैपनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रस्तुत गर्न नमिल्ने र नगर्ने पनि बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट नेपाली काँग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खाँणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गर्नुभयो ।

गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताउनु भयो ।