Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


अब डडेल्धुरामै भटमास प्रशोधन


208
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा भटमास प्रशोधन तथा उत्पादन उद्योग संचालनमा आएको छ ।

प्रदेशको पहिलो उद्योगको रुपमा स्थापना भएको फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडले औपचारिक कार्यक्रम गर्दै शनिबारदेखि भटमासको उत्पादन परिक्षण गरि संचालनमा ल्याएको हो ।

करिब ५० करोड अधिकृत पुँजी रहेको जाईन्टमा खाने तेल, लुगा धुने साबुन, कुखुराको लागि पेलेट दाना, सोया मिल्क, सोयाविन र मसालाहरु गरि छ प्रकारको उत्पादन गर्ने उद्देश्यले पाँच वर्ष अघिदेखि आवश्यक पूर्वाधार र मेसिन औजार तथा उपकरण खरिद गरि जडान कार्य सम्पन्न भएपछि उद्योगले काम सुरू गरेको लिमिटेडका संचालक डा. तारा प्रसाद जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका आठ जिल्लामा १० हजार हेक्टरमा भटमास खेती गरिन्छ । नगदे दालहन बाली भटमासको व्यवसायिक खेती वृद्धि गरि २५ हजार हेक्टरमा पुर्‍याएर उत्पादनलाई स्वदेशमै आयात निर्यातको वातावरण बनाउन उद्योग स्थापना गरिएको डा. जोशीले बताउनुभयो ।

भटमास खेती कृषकले गर्ने तर निर्यात भारत तिर हुने बजारीकरणलाई प्रतिस्स्थापन गर्दै स्थानीय कृषकलाई प्रत्यक्ष परोक्ष रुपमा आर्थिक उपार्जनको माध्यम मात्र नभई गुणस्तरिय उत्पादन गरि गरिबको मासु भनिने भटमासलाई स्थानीय उपभोक्ताको चुलोसम्म पुर्‍याउने लक्ष्य राखेको एग्रो जाईन्टलाई डडेल्धुराका लागि औद्योगिकरणको आयामको रुपमा हेरिएको छ ।