प्रकाशमानलाई भाेट माग्दै बाबुराम « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


प्रकाशमानलाई भाेट माग्दै बाबुराम

काठमाडौं-१ मा गठबन्धनले जित्ने प्रकाशमानकाे दावी

२५ कार्तिक २०७९, शुक्रबार १०:३८

4.472k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दावी गर्नुभएको छ ।

आज शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको उहाँले बताउनुभएको हो । उहाँले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताउनुभयो । नेता सिंहले निर्वाचनले संविधानकाे रक्षा र प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राखेर संस्थागत गर्दै विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दावी गर्नुभयो ।

नेता सिंहको घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बन्नुभएको थियो । भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताउनुभएको छ । भट्टराईले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं-१ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउनुभयो ।

गठबन्धनमा साझा उम्मेदवारहरुले निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान लगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत उहाँले आग्रह गर्नुभयो । अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताउनुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आगामी निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त भएका छन् ।

तस्विरहरू :