२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


‘ट्रमाडोल’ औषधि चिकित्सकको सिफारिसबिना बिक्री गर्न नपाइने


0
Shares

काठमाडौं, भदौ ७ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिसबिना बिक्री–वितरण नगर्न रोक लगाउने भएको छ ।

सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ ।

केही मुलुकमा बिक्री–वितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिसबिना बिक्री–वितरणमा रोक लगाउन लागेको हो ।

औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री–वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ ।

विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिस गरेका ट्रमाडोलको संख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेरमात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।

सो औषधि वर्षेनि कति खपत हुन्छ भन्ने कुनै तथ्यांक छैन ।

अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के–कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्यांक विभागमा बुझाउन भनिएको छ ।

यसैबीच, विभागले हालसम्म ११७ प्रकारका अत्यावश्यक औषधिको मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ती औषधिमा प्यारासिटामोलदेखि अल्मिनाडोेलसम्मका छन् ।

विशेषगरी पछिल्लो समय नसर्ने रोग (मुटु, मिर्गाैला, रक्तचाप)मा प्रयोग हुने औषधिको मूल्य निर्धारण भएको छ ।

नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगीको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।

कार्यविधि बनाइ औषधिको मूल्य निर्धारण गरिएको महानिर्देशक ढकालले जानकारी दिए । रासस