बिजुली बाल्ने आसमै बित्याे डेढ दशक « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


बिजुली बाल्ने आसमै बित्याे डेढ दशक


3.224k
Shares

बझाङ । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीयको विद्युत बाल्ने आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै विद्युत बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिले सम्म विद्युत बाल्न पाएका छैनन् ।

गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि यथावत छन् । उक्त विद्युतका तार र पोलहरु स्थानीयले लुगाकपडा सुकाउन प्रयोग गरेको १५ वर्ष वित्न लागेको छ । तर अहिलेसम्म सरोकारवाला निकायले विद्युत बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरिकहरुको विद्युत बाल्ने आशा निराशामा परिणत हुन थालेको हो ।

गाउँ नजिकै रहेको पालगाड खाेला छ । उक्त खोलाबाट २०६५ सालमा नेपाल उर्जाको लाखौको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत योजना निर्माण गरी सञ्चालनमा ल्याएको स्थानीय बासिन्दा बताउँछन् ।

विद्युत सञ्चालन भएको केही समय नपुग्दै पालगाड खाेलाले कटान गर्दै नहर भत्कायो र ठाउँ ठाउँमा पहिरो गयो । उक्त विद्युत सञ्चालन गर्ने आँट न तत्कालीन कोटदेवल गाविसले गर्‍याे नत तत्कालीन जिल्ला विकास समितिले नै ।
विद्युत सञ्चालनका लागि पहल कसैले नगरेका कारण भएका विद्युतका औजार तथा उपकरण मेसिनहरु सबैमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका स्थानीय तथा समाजसेवी जगदिश बहादुर भण्डारीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘स्थानीय सरकार आएपछि त विद्युत बाल्न पाइन्छ कि भन्ने आसामा यहाँका नागरिक थियौँ । पटक-पटक स्थानीय सरकारसँग विद्युत पुन: निर्माण तथा राष्ट्रिय प्रसारण लाइन जोडी दिनका लागि आग्रह गर्दै आयौँ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले यो गाउँका लागि विद्युत लगायत सिँचाइका कोरा नारा दिएका थिए । हामी सोझा नागरिक पत्यायौँ र मतदान पनि गरेउ । पाँच वर्ष बित्यो न सिँचाइको सुबिधा गाउँमा पुग्यो नत विद्युत नै ?२०७९ को स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुले पनि दशै अघि नै विद्युत प्रत्येक टोलमा बाली सक्ने आश्वसन दिए । अहिले सम्म एउटा विद्युतको पोल र तार देखेका छैनौँ । दशै सकी तिहार सक्किएको महिनौ दिन भइसक्यो र अहिले संघ तथा प्रदेशको निर्वाचनको समेत माहोल तातेको छ । आश्वसन नेकपा एमालेमा तत्कालीन निर्वाचित जनप्रतिनिधि, नेकपा माओवादीका जनप्रतिनिधि र नेपाली काँग्रेसका जनप्रतिनिधीहरुले दिएका छन् । अहिले सम्म कामको थालनी गरेका छैनन् । ’