
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारसँग देश बनाउने कुनै पनि मिसन र भिजन नभएको टिप्पणी गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै ओलीले स्वार्थको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै गन्तव्य नभएको टिप्पणी गर्नुभयो ।
आगामी निर्वाचनपछि वर्तमान सरकार जस्तो बन्न दिन नहुने बताउँदै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने जिकिर गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभयो ।
आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने उहाँको भनाई छ ।
दाहालको नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गर्दै उहाँले युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर दाहाल आफ्ना परिवार र आफ्न्तको पृष्ठपोषणमा लागेको आरोप लगाउनुभयो ।
आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने ओलीको दावी छ । मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको ओलीको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्