
दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्न भएका भनिएका व्यक्तिका विषयमा विवाद देखिएको छ ।
बलात्कारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको र निर्दोषलाई फसाउन खोजेको भन्दै पीडित परिवारले नै आक्रोस व्यक्त गरेका छन् ।
पन्तको बलात्कार र हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मानसिक रुपमा अस्वस्थ स्थानीय दिलिप सिंहलाई पक्राउ गरी सार्वजनिक गरेपछि पीडित परिवार झन् आक्रोसित भएको छ ।
हत्या भएको तीन सातासम्म अनुसन्धानमा शून्य उपलब्धि हासिल गरेको प्रहरीले एकाएक गत सोमबार सिंहलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
तर स्थानीय बासिन्दा र पीडित पक्षले भने घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको र निर्दोषलाई पक्राउ गरेर जबरजस्ती अपराधि प्रमाणित गर्न खोजेको आरोप लगाउँदै आन्दोलन चर्काउँदै आएका छन् ।
पक्राउ परेका दिलिपका बाबुले प्रहरीले जबरजस्ती अभियोग स्वीकार गर्न दबाब दिने गरेको आरोप लगाए ।
घटना भएको २६ दिनपछि प्रहरीले विष्टको घरमा गएर लुगा मागेर लगेको र त्यसलाई नै घटनास्थलबाट भेटिएको प्रमाणका रुपमा पेश गरेको उनको दाजु खडक सिंह विष्टले दाबी गरे ।
प्रहरीले विगतको पृष्ठभूमीलाई आधार मानेर विष्टलाई पक्राउ गरेको बताए पनि आफन्त र छिमेकीले भने षड्यन्त्रपूर्वक उनलाई फसाउन खोजिएको बताएका छन् ।
प्रहरीले विष्टलाई पक्राउ गरी सार्वजनिक गरे पनि उनलाई दोषी सावित गर्न यथेष्ट प्रमाण नभएपछि निर्मलाका बाबुलाई हतियारका रुपमा प्रयोग गर्न खोजेको छ ।
घटनाको २६ औं दिनमा प्रहरीले निर्मलाका बुवालाई घटनास्थलमा लगेर विष्टको सर्टको टुक्रा फेला परेको नाटक गरेपछि प्रहरीमाथी नै शंका उब्जिएको छ ।
प्रहरीले वास्तविक अपराधि पत्ता लगाउन नसकेको र निर्दोषलाई फकाउन खोजेको भन्दै स्थानीयबासीले आन्दोलन चर्काइरहेका छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेको र दोषीलाई उम्काउन खोजेको भन्दै चर्को विरोध सुरु भएपछि अन्ततः प्रदेश ७ प्रहरीले एसएसपी विक्रम चन्दलाई कञ्चनपुर पठाएको छ ।
अब चन्द नेतृत्वको प्रहरी टोलीलाई घटनाको छानबिन गरी वास्तविक अपराधी पत्ता लगाउने जिम्मेवारी आएको छ ।
प्रतिक्रिया दिनुहोस्