Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


निर्वाचन बिथोल्नका लागि देशभर २३ समूह सक्रिय : गृह मन्त्रालय


884
Shares

काठमाडौं । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

प्रदेश १ को विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको जानकारी दिनुभएको हो ।

उहाँले एउटा समूहमा ५–७ जना मात्रै पनि भएको तर कुनै समूहमा धेरै संख्या पनि रहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताउनुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिँदै प्रवक्ता पोखरेलले निर्वाचनमा खटिने कर्मचारी,उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको बताउनुभयो ।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने जानकारी दिँदै उहाँले पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने बताउनुभयो ।

सरकारले निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।