
काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषद्ले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
तर परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पुनः अर्को नाम सिफारिस गर्न बैठक बस्न लागेको हो ।
सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् ।
परिषद्ले यी दुईमध्ये एक नाम सिफारिस गर्नुपर्नेछ । यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ ।
दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।
हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्