Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन


169
Shares

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।

आज सङ्घीय गृह मन्त्रालय र मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिनुभयो ।

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उहाँले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उक्त गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोदप्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति थियो ।

गोष्ठीमा मधेस प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।