Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गर्न आयोगको अपिल


52
Shares

काठमाडाैं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आज (बिहीवार) बाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो ।

बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहीतामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्‍याली, गर्दा आचारसंहीतामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गर्नुभएको हो ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पार्नुभयो ।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत हुने दाबीसमेत गर्नुभयो ।