३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


उम्मेदवारलाई सर्लाहीको कौडेनामा प्रवेश गर्न नदिने स्थानीयको अडान, विगतका आश्वासन पूरा नगरेको भन्दै टायर बालेर प्रदर्शन


1.521k
Shares

सर्लाही । मंसिर ४ गते हुने निर्वाचनलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

कौडेना गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय तथा युवाहरुको समूले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको हो । नेताहरुलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्ने र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए ।

उनले समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छर्केर धूलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । चौधरीले सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए । उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए । हुलाकी राजमार्ग नबन्दा स्थानीयले वर्षौदेखि सास्ती भोग्नु परेको स्थानीय मनोज पासवानले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अवरोध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले राजनीतिक दलका नेता, स्थानीय र ठेकादारबीच छलफल भइरहेको छ ।