एमालेको आकर्षक चुनावी घोषणापत्र, के छ प्रतिवद्धता ? « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


एमालेको आकर्षक चुनावी घोषणापत्र, के छ प्रतिवद्धता ?


390
Shares

काठमाडौं । नेकपा एमालेले आसन्न प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हाइटेक प्रविधिमार्फत सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

नेकपा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ भन्ने मूल नाराका साथ आसन्न प्रदेश सभा र प्रतिनिधिसभालाई लक्षित गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । घोषणापत्रमार्फत एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ । यस्तै, नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार विदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाएः युवाको रोजाइ, पढाइः भविष्यको जग बसाइ भन्ने ज्ञारेन्टी एमालेले दिएको छ ।

नागरिक प्रशासनलाई सक्षम बनाउने, सबै नागरिकलाई एक महिनाभित्र वंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता समस्या समाधान गरिने उल्लेख छ । त्यस्तै, समृद्धिको अभियानमा बाधक रहेका नीतिहरू सुधार गर्ने एमालेको प्रतिवद्धता छ । अक्षम संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने, नागरिक प्रशासनलाई सक्षम र जनताप्रति उत्तरदायी बनाउने र परिचयपत्रको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि गरिएको छ । डिबेटका क्रममा अध्यक्ष ओलीले आफू सरकारमा रहेका बेला गरेका विकास निर्माणका काम र आफूले अघि सारेका नीतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । आफ्ना नीति लोकप्रिय भएकाले पाँच वर्षसम्म काम गर्न नदिको उहाँको दाबी छ । अध्यक्ष ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै यसअघि पार्टीमा सरकार ढाल्न पार्टी भित्रै षड्यन्यत्र भएको र त्यस्ता तत्वहरु गैरसंवैधानिक रुपमा पार्टी खोले एमालेबाट बाहिरिसकेको भन्दै मंसिर ४ मा नेकपा एमालेको सरकार बने समृद्ध नेपालको बाटो अघि बढ्ने बताउनुभयो ।

एमालेले यसअघिका निर्वाचनमा जस्तै, केही लोकप्रिय कार्यक्रम पनि अघि सारेको छ । सुन्दा कर्णप्रिय लाग्ने तर आफू सत्तामा पुगेका बेला चुनावमा गरेका प्रतिवद्धतालाई बेवास्ता गर्ने दलहरुको प्रवृति कायमै रहेका बेला एमालेले फेरि पनि मतदातालाई आकर्षित गर्ने विभिन्न कार्यक्रम ल्याएको छ । त्यसैगरी यसअघि आफू सरकारमा सहभागी भएका बेला सञ्चालन गरिएका र अधुरा रहेका रेल तथा पानीजहाज र पूर्वपश्चिम विद्युतीय रेललगायतका कार्यक्रमलाई पनि एमालेले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अध्यक्ष ओलीले पार्टीको घोषणापत्र देश विकासको मार्गचित्र भएको दाबी गर्नभएको छ । उहाँले जनतालाई छक्याउन घोषणापत्र अगाडि नल्याएको बताउनुभयो । उहाँले घोषणापत्र कार्यन्वयनको लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याउँदै छिटो छरिटो काम गर्न सरकर गठनको पहिलो वर्ष नीतिगत व्यवधानहरु हटाउन सुधारका काम गर्ने बताउनुभयो ।

देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ पुर्‍याइने एमालेको लक्ष्य लिएको छ । यसैगरि साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने एमालेको लक्ष्य छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्‍याउने घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने, ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख्मु जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने एमालेको दाबी छ ।

एमालेले आफूले सरकारको नेतृत्व गर्न पाए महिनावारी हुने उमेर समूहका देशभरीका महिलालाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै, प्रसुति हुने सतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने र ग्रामिण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निः शुल्क आपतकालिन उद्दार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलव्ध गराइनेसमेत एमालेको प्रतिवद्धता छ ।

आकर्षक नारा कार्यक्रम समावेश गरिएको एमालेका प्रतिवद्धता कति पूरा हुन्छन् भन्ने हेर्न भने अझै केही समय कुर्नुपर्ने छ ।