Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


उम्मेदवारले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने


299
Shares

काठमाडाैं । राजनीतिक दल तथा उमेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिनुभयो ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

त्यस्तै, जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।