Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


बारा–४ मा एमालेलाई सकस


741
Shares

बारा । बाराको क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) लाई यस पटक पनि जित हात पार्न चुनौति देखिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर मनोनयनको अघिल्लो दिनमात्र एमालेमा प्रवेश गरेर टिकट हात पारेका एकबाल मियाँ क्षेत्रगत रुपमा कार्यकर्तामाझ अझै स्वीकार्य नभएपछि एमालेलाई चुनौति देखिएको हो ।

पार्टी २०७४ को निर्वाचनमा माओवादी केन्द्रसँगको बाम एकतामा १६ सय ६७ मतले पराजित भएको एमाले यसपटक चुनावको मुखमा केन्द्रीय नेतृत्वले नयाँ उम्मेदवार पठाएपछि कार्यकर्तामा उत्साह घटेको एमालैकै कार्यकर्ताहरूले बताउन थालेका छन् ।

लोसपा छोडेर एमालेमा प्रवेश गर्दा समेत लोसपाका नेता कार्यकर्तालाई आफूसँग तान्न नसकेका मियाँलाई गठबन्धनबाट उठेका नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार किसान श्रेष्ठ भारी पर्ने देखिन्छ । मियाँले मुस्लिम समुदायको र दक्षिणी क्षेत्रको मत बढी पाउने अपेक्षा गरे पनि मधेशमा परिचित लोसपाका नेता जितेन्द्र सोनालको सोही क्षेत्रबाट प्रदेशको गठबन्धनमा उम्मेदवारीले एमालेलाई क्षति पुग्ने देखिएको हो ।

यता कांग्रेसका कार्यकर्ताहरूले सिफारिस भएका आफ्ना उम्मेद्वार नपठाएपछि व्यापारिक पृष्ठभूमिका कांग्रेस नेता इच्छाबहादुर वाग्लेको विद्रोहले मियाँलाई केही सहज हुने अनुमान एमालेका स्थानीय नेताहरुको छ ।

तर, कांग्रेसकै नेताहरूले बाग्लेको कार्यकर्तामै जनाधार नभएकाले बिकल्प हुन नसक्ने र कांग्रेसको मत गठबन्धनलाई जाने बताएका छन् ।