२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


विदेशका अस्पतालमा ‘कोमा’मा रहेका नेपालीलाई स्वदेश ल्याइने


0
Shares

काठमाडौं, भदौ ६ । विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीका परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताए ।

उनले भने–‘यो संवेदनशील विषय हो । वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटक–पटक छलफल भएको छ । सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ ।’

वैदेशिक रोजगारीमा गएका हजारौंले जीवन गुमाउनुपर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने–‘सामान्य अवस्थामा सुतेका श्रमिकको अर्को दिन मृत्यु हुन्छ । यसको कारण हामीले खोज्नुपर्छ । अबका दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सचेत गराउन हामी प्रयत्नशील छौं ।’

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री विष्टले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याएर अस्पतालमा राख्न पहल गरिरहेका छन् ।

वैदेशिक रोजगारीकाक्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् ।

कमाइ गर्ने व्यक्ति नै कोमामा पुगेपछि आश्रित परिवार आर्थिक तथा मानसिकरुपमा विक्षिप्त हुँदै आएका छन् । रासस