उपत्यकासहित देशका विभिन्न भागमा आज सूर्यको उपसाना गर्दै छठ पर्व मनाइँदैं « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


उपत्यकासहित देशका विभिन्न भागमा आज सूर्यको उपसाना गर्दै छठ पर्व मनाइँदैं

मिथिलाञ्चलमा विशेष रौनक, नदी किनार र तलाउहरु झकिझकाऊ

1.664k
Shares

सन्दिप कुमार श्रेष्ठ

काठमाडौं । पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना गर्दै सूर्यदेवको पूजा आराधना गरी मनाईने छठ पर्वको आज आइतबार मूख्य दिन हो ।

मिथिलाञ्चलमा विशेष गरी मनाईने यो पर्व अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिस्तार भईसकेको छ । आइतबार अपरान्ह अस्ताउँदो सूर्यलाई अर्घ चढाएर रातभर जाग्राम बस्ने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत समापन हुने गर्दछ ।

यो पर्व मनाउन नदी किनार तथा तलाउहरु सजाएर झकिझकाउ बनाइएको छ । काठमाडौंमा हुने छठ महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

दशैं र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी परिवारको सुख–शान्तिको कामना गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातमा सामाचकेवा लोकगीत गाएर यो पर्वको थालनी हुन्छ ।

काठमाडौंका नदी तलाउ छठ पूजाका लागि बेहुली झैं सिंगारिएका छन् । कमलपोखरी, गौरीघाट, थापाथली, टेकू घाटमा पूजाका लागि भव्य सजावट गरिएको छ । कमलपोखरीमा बनाइएको पूजास्थलमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सरकारी अधिकारीहरु सहभागी हुनुहुनेछ । आयोजकहरु पूजाको सम्पूर्ण तयारी पूरा भएको बताउँछन् ।

यस पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा खाने, खुवाउने चलन छ ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।

भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणमा छठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ । त्रेता युगमा लंकाबाट श्री राम सीता माता फर्किंदा सीता माता गंगा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ ।

कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । यो ब्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ ।

तराईबाट पहाडमा ख्याती आर्जन गरेको यो पर्व अहिले सांस्कृतिक दृष्टिले तराई पहाड जोड्ने सेतू बनेको छ ।