
कालीकोट । कालीकोटमा बालबालिकाहरुले पुरानाे बम खेलाइरहेकाे अवस्थामा विस्फाेट भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले पाँच जना बालबालिकाहरुले पुरानाे सकेट बम खेलाइ रहेकाे अवस्थामा विस्फाेट भएकाे इमेज खबरलाई बताउनु भयाे ।
उहाले भन्नुभयाे, ‘पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भयाे,बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ।’
उहाँका अनुसार खेल्न गएका बालबालिकाको साथमा हसियासमेत फेला परेकाे हाे ।
बम विस्फाेटमा परेर २ बालिकाको मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट भएकाे हाे ।
स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको डीएसपी रिमालले बताउनुभयाे ।
गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्