१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नारायणगढ-बुटवल सडक खण्डको काम सुरु


598
Shares

काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ ।

कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो ।

उक्त आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनको लापरबाहीले निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा समेत आयोजनाको भौतिक प्रगति १९ प्रतिशत मात्रै पुगेको छ ।

त्यसपछि सडक विभागले ९ असोजमा सार्वजनिक सूचनामार्फत ५ कात्तिकभित्र कार्यसम्पादनमा सुधार नल्याए ठेक्का तोड्ने चेतावनी दिएको थियो । त्यसपछि बल्ल कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।

ठेक्कालाई निरन्तरता दिने विषयमा स्थलगत अध्ययनपछि मात्रै निर्णय गरिने उनको भनाइ छ । कम्पनीलाई दिएको अवधि शनिबार सकिँदै छ, त्यसलगत्तै आयोजनाको स्थलगत अध्ययन गर्ने उनले जानकारी दिनुभयो । कम्पनीले यसअघि पनि चुस्त रूपमा काम गर्ने र पछि छोेड्ने गरेको थियो ।

त्यो अवस्थामा अहिले नै तत्काल विश्वास गर्ने आधार भने छैन । त्यो अवस्थामा परामर्शदाता कम्पनीसँग छलफल गरेर निर्णय गरिने आयोजनाको पश्चिमखण्डका प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो । यस्तै, ठेक्का तोडेपछि मुद्दा–मामिला हुने तथा नयाँ टेन्डर गरेर अघि बढ्दा नौ महिनादेखि १२ महिनासम्म लाग्छ । सो अवधिमा सडक पनि अलपत्र भएर बस्छ । उक्त सडकले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई केन्द्रीय राजधानीसँग जोडेको छ  ।