Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


चुनाव प्रचारमा सरकारी सुविधा प्रयोग गरेकोमा निर्वाचन आयोगले उठायो प्रश्न


65
Shares

काठमाडामैं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरूले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।

सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले राजनीतिक दलहरूबाट सरकारी स्रोतसाधन दुरूपयोगबारे आवश्यक निगरानी र अनुसन्धानका लागि भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगबाट अख्तियारमा पठाएको पत्रमा संलग्न आयोगका पदाधिकारीको निर्णयमा ‘निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधन प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुने भन्दै त्यसो भएको हो भने आवश्यक निगरानी तथा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्ने उल्लेख छ ।

राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको विषयमा पनि आयोगले चासो देखाएको छ । यस्तै, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी भएपछि राज्यकोषको रकम व्यहोर्ने गरी कुनै प्रयोजनका लागि हेलिकप्टर सेवा उपयोग भएको छ भने त्यसको विवरण दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन समेत दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकप्टर लिएर विभिन्न जिल्लामा गएकोबारे उजुरी परेको भन्दै आयोगले प्रधानमन्त्रीसहित उच्चअधिकारीले हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च सरकारी कोषमा पर्छ कि पर्दैन भन्नेबारे स्पष्ट पमा लेखेर पठाउन समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

गत आइतबार मात्रै प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरू चुनावी कार्यक्रममा सिलसिलामा नेपाली सेनाको विमान र हेलिकप्टरबाट सुदुरपश्चिमको कञ्चनपुर पुगेका थिए ।