१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


टी-२० विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको जित


637
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ ।

टी–२० विश्वकप सुपर–१२ को समूह–१ मा आइतबार भएको दोस्रो खेलमा भारतले पाकिस्तानलाई सनसनीपूर्ण रुपमा चार विकेटले हराएको हो ।

जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा विजयी रन बटुलेको थियो । रविचन्द्रन आश्विनले विजयी रन बटुलेका थिए । भारतको जितका नायक रहेका विराट कोहलीले ५३ बलमा ८२ रन जोडेका थिए । उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए । भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो ।

कोहलीले १९ औं ओभरको अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै भारतलाई खेलमा फर्काएका थिए । टस जितेर भारतले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटमा १ सय ५९ रन बनाएको थियो । सस्तोमै प्रारम्भिक ब्याट्सम्यान जोडी गुमाएको पाकिस्तानका लागि सन मसुदले ५२ र इफटिखर अहमदले ५१ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

यसअघि आइतबारको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथी ९ विकेटले सहज जित हात पारेको थियो । होवार्टमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले ।