९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


अपराधिक घटनाकाे नियन्त्रण गर्न आवश्यक: गृहमन्त्री खाँण


78
Shares

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ ।

सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो । उहाँले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी अपराधिक गतिविधिहरु हुन थालेको बताउनुभयाे । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताउनुभयो । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको बताउनुभयाे । उहाँले साेही तालिम केन्द्र निर्माण भएपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम, योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदत पुगेको बताउनुभयो ।