२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


म्याग्दीकाे बेनीमा तेक्वान्दो प्रतियोगिताको रौनक


260
Shares

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो प्रतियोगिताले बेनी बजारको रौनक बढाएको छ ।

बेनीस्थित कभर्ड हलमा शुक्रबार साँझदेखि सुरु भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो ।

प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका प्रशिक्षक कर्ण प्रधानले बताएका छन् । महिलातर्फ ७.१९९ अंकसहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वस्तिका तामाङले ७.१४९ अंक प्राप्त गरेकी छन् ।

तेस्रो स्थानमा प्रदेश १ की सुशीला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाएका छन् । पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बिनीका युवराज राना ७.१४९ अंकसहित उपविजेता बनेका हुन् । ६.८६६ अंकसहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंकसहित प्रदेश-१ का विवेक राई तेस्रो भएका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दो खेल्न देशका सात प्रदेश, आर्मी, सशस्त्र र प्रहरी समेत गरी ३ वटा विभागीय टिमका ३ सय ३० जना खेलाडी बेनी आइपुगेका छन् । तेक्वान्दो खेलमा गेरोगीतर्फ महिला–पुरुष ८–८ गरी १६ वटा र पुम्से विधाका ३–३ गरी ६ विधामा २२ खेलका २२ स्वर्ण, २२ रजत र ४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने म्याग्दी तेक्वान्दो संघका प्रशिक्षक प्रधानले बताएका छन् ।