काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ ।
तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ । स्थानीयवासीलाई फूल टिप्ने र माला बनाउने चटारोले भ्याई-नभ्याई छ । किसानले खेतमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयको भनाइ छ ।
यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयको दिनचर्या बनेको छ । किसानहरू एक-अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । तिहारमा विशेष माग हुने र नजिकको बजारलाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयले बताएका छन् ।
तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयको भनाइ छ । विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठिक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरू बताउँछन् ।
फूलको व्यापार र बजार बढेपनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्न सक्ने स्थिति छैन् ।
प्रतिक्रिया दिनुहोस्