गृहमन्त्री पृष्ठभूमिका अधिकांश राजनीतिज्ञ सधै हस्तक्षेपकारी भूमिकामा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


गृहमन्त्री पृष्ठभूमिका अधिकांश राजनीतिज्ञ सधै हस्तक्षेपकारी भूमिकामा


104
Shares

काठमाडौं । नेपालको राजनीतिमा गृहमन्त्रीको पृष्ठभूमि भएकाहरु जबर्जस्त स्थापित हुने गरेको देखिएको छ । वि.स. २००७ सालयताको राजनीतिमा अन्य मन्त्रालय सम्हालेकाहरु सयौं भएपनि गृहमन्त्री हुने मौका पाउनेहरुको चल्तीफिर्ती अर्कै देखिन्छ । कुर्सी र पार्टीविहीन हुँदा पनि उनीहरु शक्ति र सत्ताका लागि सक्रिय रहेको यो चुनावी चलखेलमा स्पष्ट देखिएको छ ।

वि.स. २००७ सालको क्रान्तिपछि मोहनशम्शेर नेतृत्वको सरकारमा बीपी कोइराला गृहमन्त्री हुनुभयो । त्यसपछि प्रधानमन्त्रीका लागि महत्वाकांक्षी देखिएका कोइराला वि.स. २०१५ सालको पहिलो संसदीय चुनावसँगै प्रधानमन्त्री भएर उदाउनुभयो । गृहमन्त्री बन्ने पालो आयो– सूर्यप्रसाद उपाध्यायको । उपाध्याय गृहमन्त्रीमा सीमित हुन मान्नुभएन । बैचारिक रुपमा बीपी र उहाँको टक्कर पटक पटक सार्वजनिक भए ।

वि.स. २०४६ सालको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरुको नेतृत्वमा समकालीन राजनीति चलिरहेको छ । बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्माओली दुवैको सत्ता यात्रा गृहमन्त्रीबाट सुरु भएको हो । देउवा सर्वाधिक पाँच पटक र ओली दुईपटक कार्यकारी तहमा पुग्नुभएको छ । देउवालगत्तै कांग्रेसमा उदाएका गोविन्दराज जोशी, खुमबहादुर खडका र विजय गच्छदार पटक पटक गृहमन्त्री बन्नुभयो ।

भ्रष्टाचारको आरोप लागेपछि कांग्रेस राजनीतिबाट हराउनुभएका जोशी आफू चुनाव जित्न नसके पनि तनहुँबाट कांग्रेस हराउन पर्याप्त बन्दै आउनुभएको छ । खुमबहादुर खड्का र विजय कुमार गच्छदारको नामसँग पनि भ्रष्टाचारको फुर्को जोडियो । दिवंगत भएपछि पनि त्यही नामको व्याजमा उहाँका छोरा अनुराग राजनीतिमा अवतरितभएका छन् । भ्रष्टाचारको छिनोफानो नभएपनि कांग्रेस नेतृत्व तीन दशक लगातार गच्छदारलाई टिकट दिन बाध्य छ ।

गृहमन्त्रीकै पृष्ठभूमि भएका पूर्णबहादुर खडका देउवाका दाहिने हात भएर वर्षौंदेखि महाभारत पात्र विदुरको भूमिका नीति निर्वाह गरिरहनुभएको छ । गृहमन्त्री भएदेखि मुलुकको राजनीतिमा शक्तिशाली नेताको रुपमा चिनिन थालेका कृष्णप्रसाद सिटौला कांग्रेसमा महत्वपूर्ण भूमिका र भागबण्डा खोज्ने हैसियतामा पुग्नुभएको हो । देउवाको भक्त भएर नै गृहमन्त्री भएका विमलेन्द्र निधिलाई त्यही प्रतापले आफ्नै भाग्य विधातालाई टक्कर दिने हैसियतमा पुर्‍यायो ।

रामचन्द्र पौडेलले पाउने भागवण्डाको पृष्ठभूमि गृहमन्त्रीबाटै शुरु भएको हो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदाताका गृहमन्त्री योगप्रसाद उपाध्याय उमेरका कारण राजनीतिमा सक्रिय हुन सक्नुभएन । यद्यपि मन्त्रीपछि अमेरिकाको राजदूत बन्ने सौभाग्य पाउनुभयो । वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफू, पत्नी, भाइदेखि शुभचिन्तकलाई लाभको पदमा पुर्‍याउने अभ्यास थालिसक्नुभएको छ ।

राजा बोकेर राजनीतिमा प्रवेश गर्नुभएका कमल थापा गृहलगायत अधिकांश मन्त्रालयको नेतृत्व गर्नुभयो । शक्तिबिना एकछिन बस्न नरुचाउने उहाँले चुनाव हारेपछि अर्को पार्टी मात्र गठन गर्नुभएन, एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनावमा होमिनुभयो । अझ बाम राजनीतिमा गृहमन्त्री भएकाहरुको राजनीतिक हस्तक्षेप उल्लेखनीय छ । राजनीतिक हिसावले निरीह बामदेव गौतमका गतिविधि अनौठा भएपनि उहाँ फरक फरक भूमिकामा प्रकट भइरहनुहुन्छ ।

सधैं नाफाको राजनीति गर्ने विष्णु पौडेललाई जुनसुकै प्रतिकूल अवस्थाले साथ दिएकै छ । सदन र सडक जत्ता पनि मत, अभिमत असरल्ल गरेर नेतृत्वसंग भीड्ने तागत भीम रावललाई गृहमन्त्री पदले नै दिएको हो । सरकार ढल्दा गृहमन्त्रीमा दुई हप्ता टिक्न नभ्याएका खगराज अधिकारीले समेत आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने मेलो मिलाउनुभएको छ ।

माओवादी रामबहादुर थापाबाहेक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, शक्ति बस्नेत र जनार्दन शर्मा प्रभावशाली नेताको भूमिका बनाउनुभएको छ । बस्नेत र शर्माले त आफ्नाहरुलाई लाभका पदमा पुर्‍याउने कीर्तिमान नै बनाउनुभएको छ । परिवारका अरु सदस्यको राजनीतिक भविष्य उज्ज्वल बनाएपछि महरा राजनीतिक सन्यासका अभिव्यक्ति दिइरहनुभएको छ ।

गृहमन्त्री हुन गरिने मरिहत्तेभित्र आजीवन प्राप्त हाइफाई जीवन मात्र नभएर शक्ति र सत्ताको बाँडफाँडमा हिस्सा पनि हो भन्ने इतिहासले प्रमाणित गरेको छ । कीर्तिमानभन्दा आजीवन राज्यले दिने सुविधालाई राजनीतिमा विनिमय गर्ने पद्दतिमा सुधार ल्याउन जरुरी छ ।