Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


खःमेय् जात्रा सम्पन्न


1.3k
Shares

भादगाउँ । बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ ।

धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय् लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट बाहिर निकाली दौडाएर ब्रम्हायणी पीठसम्म पुर्‍याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय् को टाउकामा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निक्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, कम्तीमा पनि एकसय धार्नी तौल भएको मोटोघाटो चाहिन्छ ।

खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाई, धुलो पारेर घिउमा मुछी धूप बनाइन्छ । उक्त धूप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ । – रासस